देशको करिब दुई तिहाई जनसंख्या रोजगारी तथा जिविकोपार्जनको लागि कृषि क्षेत्रमा निर्भर रहेको भएता पनि यस क्षेत्रको कूल गार्हस्थ उत्पादनमा करिब ३२.५ प्रतिशत (आर्थिक सर्वेक्षण, २०१५) योगदान रहेको छ । राष्ट्रिय कृषि गणना २०६८ अनुसार नेपालको कृषि जमिनको औषत आकार ०.६८ हेक्टर र प्रति कित्ताको औषत आकार ०.२१ हे. रहेको छ।गुणस्तरीय कृषि उत्पादन सामग्रीहरुको उपलब्धता सुनिश्चित गर्न नसक्नु, कृषि उपज उत्पादनमा यान्त्रिकरण अवलम्वन हुन नसक्नु र कृषि विकासका लागि आवश्यक सिंचाई, कृषि सडक, ग्रामिण विद्युतिकरण, कृषि उद्योगहरुसंगको समन्वयको अभाव रहदै आएको तथा बजारमुखी उत्पादन हुन नसकेकाले कृषिलाई व्यवसायका रुपमा नभई परम्पराका रुपमा मात्र अवलम्बन गरिदै आइएको छ।

कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व वृद्धि गर्ने स्पष्ट मार्गचित्रका साथ कृषि उपजको उत्पादनका लागि आबश्यक प्रविधि तथा उत्पादन सामाग्रीको ब्यवस्था, बाली/बस्तु उत्पादनमा यान्त्रिकरण, प्रशोधन तथा बजारीकरणको लागि आबश्यक पूर्वाधारको ब्यवस्था जस्ता प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाका कृयाकलाप मार्फत कृषि क्षेत्रको आधुनिकिकरणको परिकल्पना गरिएको छ।कृषि क्षेत्रको सम्रग आधुनिकिकरणको प्रक्रियालाई तिव्र पार्न र बाह्य परिवेशसंग सामन्जस्यता ल्याउन आधुनिक कृषिका निम्न आयामहरुलाइ समावेश गरी आधुनिकिकरणको प्रक्रियाको थालनी गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गत आ व २०७३।०७४ देखि कार्यान्वयनमा आएको छ ।

 

व्यवसायिक कृषि उत्पादन तथा प्रशोधन केन्द्र (तरकारी जोन, पर्सा जिल्ला) विकास कार्यक्रम

कृषि क्षेत्रको सम्रग आधुनिकीकरणको प्रक्रियालाई तिव्र पार्न र बाह्य परिवेशसंग सामन्जस्यता ल्याउन आधुनिक कृषिका विभिन्न आयामहरुलाइ समावेश गरी आधुनिकिकरणको प्रक्रियाको थालनी गर्न प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना गत आ.व. २०७३।०७४ देखि १० वर्षे परियोजना संचालन भएको छ। जसअनुरुप गत आ.व. २०७३।०७४ देखि पर्सा जिल्लामा तरकारीको व्यावसायिक उत्पादन तथा प्रशोधन केन्द्र विकास गर्नका लागि विभिन्न कार्यक्रमहरू संचालन भइरहेका छन ।

पर्सा जिल्लामा तरकारी अति नै राम्रो हुने अवस्थामा रहेको हुनाले उक्त जिल्लामा जोन लाई सुपर जोनमा परिर्वतन गरी अझै आधुनिकिकरण र व्यवसायिककरण तर्फ लानु पर्ने देखिन्छ । तरकारी अरु वाली भन्दा छिटो आम्दानी दिने भएको हुनाले, छोटै अवधिमा उत्पादन गरी आयआर्जन गर्न सकिने, प्रति ईकाई जग्गावाट वढी उत्पादन लिन सकिने, पोषण तत्वको सजिलै संग आपुर्ति हुने हुनाले तरकारीको माग पनि दिनानुदिन वढदैछ । मागको अधारमा आपुर्ति गर्न तरकारीवालीको उत्पादन र उत्पादकत्व वढाउन पनि त्यतिकै जरुरी छ । उत्पादन र उत्पादकत्व वढाउन तरकारीको बीउको आवश्यकता हुन्छ, बीउको कुरा गर्दा गुणस्तरयुक्त, वढी उत्पादन दिने, रोग किरा कम लाग्ने वा नलाग्ने जातका वीउ चाहिन्छ । वीउको माँग आपुर्तिको लागी आन्तरिक उत्पादन र उत्पादनले नपुगी वाहिरवाट तरकारीको वीउ आयात गरेर भए पनि उन्नत तरकारीको वीउको आपुर्ति भई रहेको छ । क्षेत्रफलको हिसावले धेरै नै तरकारी उत्पादन हुने ठाउँ भए पनि यहाँ केहि स्थानमा सिचाईको असुविधा भएको देखिन्छ ।